विराटनगर, २१ पुस । मोरङको सुनवर्षी नगरपालिकामा लक्षित बर्गका युवाहरुका लागि तीन दिने आभारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । सुनवर्षी नगरपालिकाको सहयोगमा सञ्चारकर्मी मिडिया प्रा.लि. विराटनगरको आयोजनामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न लागेका प्रशिक्षर्थी पत्रकारहरुले तथ्यका आधारमा कलम चलाउनु पर्नेमा जोड दिए ।
उनले जनप्रतिनिधिहरुलाई पनि पत्रकारले खबरदारी गर्नुपर्ने बताए । मेयर दासले ग्रामिण क्षेत्र पत्रकारिताको पहुँचमा नपुगेकाले स्थानीयस्तरमा पत्रकार उत्पादन गर्ने उद्देश्यले पत्रकारिता तालिम आयोजना गरिएको बताए । उनले ‘हचुवा’ को भरमा समाचार नलेखी तथ्य जाँच गरेर मात्र कलम चलाउन प्रशिक्षर्थी पत्रकारहरुलाई आग्रह गरे ।
मेयर दासले तालिम अत्यन्त व्यवस्थित ढंगले सञ्चालन भएको बताए । उनले आयोजकले थोरै समयमा पनि प्रशिक्षर्थीलाई धेरैकुरा सिकाएको बताउँदै तालिमका लागि तीन दिन कम भएको आफूले महसुस गरेको बताए । उनले नगरपालिकाले थप बजेट उपलब्ध गराउने घोषणा गर्दै अझ दुई दिन तालिम थप गर्न निर्देशन दिए ।
थप भएको दुई दिने तालिमबाट उत्कृष्ट हुने तीन जनालाई नगरपालिकाले विषेश सहयोग गर्ने समेत मेयर दासले घोषणा गरे ।
कार्यक्रममा सुनवर्षी नगरपालिकाकी उपमेयर मञ्जु राईले जनप्रतिनिधिहरुले पनि पत्रकारिताबारे बुझ्न तालिममा सहभागी हुनुपर्ने आफूले महसुस गरेको बताइन् । उनले नगरमा सञ्चालित अन्य विभिन्न तालिम मध्ये पत्रकारिता तालिम सञ्चालन गरेर नगरपालिकाले सही निर्णय गरेको अभाष भएको बताइन् ।
समापन कार्यक्रममा बोल्दै सहभागी चन्द्रबहादुर पाण्डे र रुक्मणीकुमारी झाले तीन दिने तालिमबाट सामान्य समाचार लेखन शिपसँगै पत्रकारिताको विषयमा धेरै कुरा सिक्न सकेको बताए । उनीहरुले अब माथिल्लो लेभलको तालिम लिँदै पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने सोच बनाएकोसमेत बताए ।
कार्यक्रममा सुनवर्षी नगरपालिकाका शिप विकास प्रमुख प्रभू झाले थप दुई दिने तालिमका लागि शिप विकास शाखा मार्फत बजेट उपलब्ध गराइने बताए । समापन कार्यक्रममा सुनवर्षी नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्र दास, वडा नं. ९ का वडा सदस्य मुस्ताक, मेयर दासका स्वकिय सचिव सुवोध दासलगायतले प्रशिक्षर्थी पत्रकारहरुलाई शुभकामना दिए ।
तालिमका प्रशिक्षार्थीलाई मेयर दास, उपमेयर मञ्जु राई, प्रशिक्षक विरेन्द्रमार साह, सुनवर्षी नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्र दास, वडा नं. ९ का वडा सदस्य मुस्ताकलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
तालिममा सुनवर्षी नगररपालिकाका ९ वटै वडाबाट तीन÷तीन जना युवायुवतीहरुको सहभागिता रहेको आयोजक सञ्चारकर्मी मिडिया प्रा.लिले जनाएको छ । तालिमका सहभागीलाई ९ वटै वडा कार्यायले छनौट गरि पठाएको आयोजक संस्थाका सदस्य सन्तोष बास्तोलाले जानकारी दिए ।
तीन दिने तालिममा वरिष्ठ पत्रकार कुमोद अधिकारी, एभिन्यूज टेलिभिजनका संवाददाता विरेन्द्रकुमार साहलगायतले प्रशिक्षण दिएका थिए । समापनमा प्रमुख अथितीलगायत अतिथीहरुलाई मायाको चिनोसमेत वितरण गरिएको थियो ।