विराटनगर । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको व्यापार मेला सम्पन्न भएको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा आयोजना गरेको व्यापार मेला ‘रोटरी ट्रेड फेयर’ सम्पन्न भएको हो ।
मेलामा ७ हजार बढीले अवलोकन गरेका छन् । मेलामा ५० भन्दा बढी स्टल राखिएका थिए । उक्त मेलाको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेकी थिइन् ।
मेलामा महिलाहरुद्वारा उत्पादीत मौलिक र सृजनात्मक सामाग्रीहरुको प्रदर्शन र बिक्रि वितरण भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् । उनले महिलाहरुको सृजनालाई घरमै सीमित हुन नदिन र उनीरुको शिप प्रवद्र्धनका लागि मेला आयोजना गरिएको बताइन् ।
अध्यक्ष अग्रवालले १३ वर्ष अघि एउटा कोठाबाट सुरु गरिएको मेला हाल व्यापकरुपमा विस्तार गरिएकोसमेत बताइन् ।
मेलामा सवै भन्दाबढी मिठो मिठो परिकारका खानाको स्टल रहेको थियो । महिलाहरुले घरमा उत्पाद गरेको मिठा मिठा परिकार राखिएको थियो ।
मेलामा लत्ताकपडा, श्रृङ्गारका सामाग्री, गरगहना, खाद्यान्न, विभिन्न प्रकारका खेलहरु, पासाकलगायतका स्टल रहेका थिए । मेलामा एक महिलालाई प्रोत्साहन गर्नका लागि निःशुल्क स्टल दिइएको र रोटरी क्लबले गर्ने सामाजिक कार्यहरुबारे जानकारी दिनका लागि स्टल राखिएको क्लबकी पब्लिक इमेज चेयर पुनम राठीले जानकारी दिइन् ।
मेलाको अन्तिम दिन शनिबार साँझ जनचेतनाका लागि ‘मोबाइलको एडिक्सन’ को विषयमा नाटकसमेत प्रदर्शन गरिएको क्लबले जनाएको छ ।