विराटनगर । रंगेली वडा नम्बर २ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । २ नम्बर वडा कार्यालयको आयोजना र विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको हो ।
शिविरमा रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपानेले निरिक्षण गरि राम्रो सेवा दिन निर्देशन दिएका थिए ।
मंगलबार केयर बलाइन्डनेस सँगको सहकार्यमा आयोजित शिविरमा आँखा शिविरमा १ सय ३० जना भन्दा बढीले निःशुल्क आँखा परीक्षण गराएका छन् । आँखा जाँच गराएका मध्ये २० जना मोतिबिन्दुका बिरामी भेटिएका छन् । उनीहरुको रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरमा निःशुल्क शल्यकृया गरिने वडाध्यक्ष सन्तलाल खवासले जानकारी दिए ।
आफ्नै वडामा शिविर सञ्चालन भएपछि स्थानीय निकै हर्षित भएका छन् । स्थानीय फैदाव हुसेनले यस्ता शिविर नियमित आयोजना भए सवैले गाउँमै उपचार सेवा पाउने बताए । उनले गाउँमै शिविर आयोजना हुँदा बाहिर जानुनपर्ने र समय एवम् पैसाको पनि बचत हुने बताए । हुसेनले विपन्न परिवारलाई शिविर आयोजना गरेर ठूलो राहत मिलेको बताए ।
स्थानीय सहदेव सरदारले अर्कै कामले वडा आएको र शिविर देखेपछि आँखा पनि जाँच गराउन पाउँदा खुशी लागेको बताए । स्थानीय चन्दा शर्माले वडाले गाउँमै शिविर आयोजना गराएर निकै राम्रो काम गरेको बताइन् ।
वडाध्यक्ष सन्तलाल खवासले आफूहरुले प्रत्येक वर्ष कम्तिमा एकपटक शिविर आयाजना गर्दै आएको बताए । उनले २ नम्बर वडा रङ्गेलीको सबैभन्दा ठूलो वडा भएता पनि विपन्न समुदायहरूको बसोबास धेरै रहेको बताए । वडाध्यक्ष खवासले विपन्नताको कारण सो ठाउँका धेरौजसो स्थानीय विराटनगर जान नसक्ने अवस्था भएकोले वडामा यस्ता शिविरहरु सञ्चालन गरिरहेको जानकारी दिए ।