मोरङ । रंगेली नगरपालिका वडा नम्बर ८,दर्बैसा नहरटोलमा राति करिब ११:३० बजे अचानक आगलागी हुँदा दुई परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको पीडित विनोद पासवानले बताएका छन्।
विनोद पासवान र आमोद पासवानको घरमा लागेको आगोले सम्पूर्ण गरगहना, लत्ताकपडा, बाख्रा, हाँस, साइकल, ग्यास सिलिन्डर, ग्यास चुलो, दुई–दुई थान ‘वेल चेयर’, धान, चामल, खाने सामग्री तथा अन्य जिन्सी समानहरू जलेर नष्ट भएको छ।
हालसम्म आगलागीको कारण खुल्न सकेको छैन। आगलागीपछि स्थानीयवासी, कानीपखरी बारुणयन्त्र र रंगेली बारुणयन्त्रका साथै जनपद प्रहरीको करिब एक घण्टा देखि डेढ घण्टासम्मको प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको हो।
हाल घटनास्थलमा थप विवरण संकलन भइरहेको छ।