रंगेली, मोरङ – अबदेखि रंगेली अस्पतालमा क्यान्सर रोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुनेभएको छ। यस उद्देश्यका लागि रंगेली अस्पताल र विराट टिचिङ अस्पताल, विराटनगरबीच एक औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
सम्झौताअनुसार, प्रत्येक महिनाको अन्तिम बुधबारका दिन रंगेली अस्पतालमा क्यान्सरसम्बन्धी विशेषज्ञ OPD सेवा सञ्चालन गरिनेछ। यो सेवा विराट टिचिङ अस्पतालका क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरूको सहकार्यमा प्रदान गरिनेछ।
सम्झौतासम्बन्धी कार्यक्रम रंगेली अस्पतालको सभाहलमा आयोजना गरिएको थियो, जसमा अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा सदस्यज्यूहरू, मेडिकल सुपरिन्टेन्डेन्ट, अस्पतालका विशेषज्ञ चिकित्सकहरू, कर्मचारीहरू तथा विराट टिचिङ अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यो सेवा सुरु भएपछि स्थानीय बासिन्दाहरूलाई क्यान्सर रोगको पहिचान, उपचार र परामर्शमा थप सहजता हुने अपेक्षा गरिएको छ।