रंगेली । मोरङ्ग धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाले आफ्नाविरुद्ध आएको समाचारको खण्डन गरेको छ ।
सहकारीका संचालक शम्भुप्रसाद रौनियारले बिहीबार खण्डन पत्र जारी गर्दै समाचारमा सत्यता नभएको दाबी गरेका हुन् । समाचारप्रति गम्भीर ध्यानआकर्षण भएको उनले बताए । ‘उक्त समाचारको सत्य र तथ्यहरु पुष्टि हुने कुनै पनि आधार नभएको अवगत गराउन चाहन्छौं,’ रौनियारले भने । उक्त सहकारीमा भएको ठगीमा संसदको सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोख्रेल जोडिएको भनेर मुलुकी खबर अनलाइनले समाचार ‘ब्रेक’ गरेको थियो । अन्य संचार माध्यममा पनि समाचार प्रकाशन भएका छन् । पोख्रेलकी पत्नी अञ्जला कोइराला सहकारीमा २ कार्यकाल संचालक थिइन् ।अञ्जला संचालक रहेकै बेला सहकारीमा घोटाला भएको देखिन्छ । तर, सहकारीले भने विगत ५–७ वर्ष पहिलेदेखि नै अञ्जना बाहिरिएको जनाएको छ । ‘उहाँले आफ्नो काम व्यस्तताले १० औं साधारणसभा (२०७८-१०-१५ ) गते मा सहकारी सदस्यबाट राजीनामा दिएको र कुनै पनि जिम्मेवारी तथा दायित्व नरहनेगरी राजीनामा स्वीकृत गरिएको अवगत गराइन्छ,’ अध्यक्ष रौनियारले भने । पोख्रेल र उनकी पत्नीको व्यक्तिगत जीवनमा बाधा पुग्नेगरी भ्रमणपूर्ण समाचार प्रकाशित भएको रौनियारको दाबी छ । ‘सहकारीमा पहिले र अहिले कुनै पनि कारोबार लिनुदिनु नरहेको अवगत गराइन्छ,’ उनले भने, ‘समाचारमा कुनै सत्यता छैन, त्यसका प्रमाण आवश्यक परे सुरक्षित रहेको जानकारी गराउँदछौं ।’रौनियारले सार्वजनिक लेखा समितिका सभापति पोख्रेलमाथि दूषित आरोप लगाइएको जिकिर गरेका छन् । तर, पोख्रेल जोडिएको सहकारीमा करिब १२ करोड रुपैयाँ अनियमितता भएको पाइएको छ । २०६८ सालमा स्थापना भएको सहकारी अहिले संकटग्रस्त छ । १८ करोड ५१ लाख रुपैयाँ कूल पुँजी रहेको सहकारीबाट १२ करोड रुपैयाँ हिनामिना भएको हो । यो सहकारीका संचाकलले ऋण लिन आएका सदस्यको सम्पत्ति अन्य बैंकमा धितो राखेर सहकारीको नाममा ऋण निकाल्ने गरेको फेला परेको छ ।
सहकारीले सदस्यको जग्गा धरौटी राखेर आफ्नो नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको छ । ऋण लिँदा संस्थाका संचालकदेखि सहकारीसँग ऋण माग्ने साधारण सदस्यको जग्गासमेत बैंकमा धितो राखेको देखिन्छ । मुलुकी अनलाइन खवर सावार ।