विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर एक दिने योगा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। आज विराटनगर स्थित बोर्डको कार्यालयमा एक दिने योगा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।
बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले शरीर तन्दुरुस्त र निरोगी बनाउनु साथै मानसिक स्वास्थ्यका लागि समेत योगा महत्वपूर्ण रहेकोले एक दिने योगा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताउनु भएको थियो। बस्नेतले बालक देखि वृद्ध सम्मलाई हितकारी हुने योगाको अभ्यास र प्रवर्द्धनमा बोर्डले सक्रियता साथ भूमिका खेल्ने धारणा समेत व्यक्त गर्नु भएको थियो।
योगा प्रशिक्षक शिल्पा प्याकुरेलले दिनु भएको प्रशिक्षण कार्यक्रममा कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार , बोर्डकी उपाध्यक्ष विन्दिया कार्की , विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की लगायत बोर्ड मातहतका कर्मचारीहरु , विभिन्न खेल र खेल सम्वद्ध संघ/संगठनमा आवद्ध खेलकुदकर्मीहरुको उपस्थिति रहेको थियो।
हरेक वर्ष अप्रिल ६ तारिखमा मनाइने अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बोर्डले आइतबार विराटनगरमा र्यालीसहितको शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरेको थियो।