रंगेली । सुनवर्षी नगरपालिका–९ स्थित आदर्श माध्यामिक विद्यालयका प्रधानाध्यापक चित्र राजवंशीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय इश्वरलाल राजवंशी रहेका छन् । उनलाई प्रधानाध्यापक राजवंशीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
प्रधानाध्यापक राजवंशीले विद्यालय सञ्चालन भइरहेकै समयमा स्थानीय इश्वरलाल र मो. अजिमउद्दिनले हुलहुज्जत गर्दै दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दिएका थिए । प्रहरी स्रोतका अनुसार सोही जाहेरीका आधारमा इश्वरलाल पक्राउ परेका हुन । अजिमउद्दिन भने फरार रहेका छन् । उनलाई पक्राउ गर्न प्रहरीले खोजी कार्य तिब्र पारेको जनाएको छ ।
पक्राउ परेका राजवंशी र हाल फरार रहेका अजिमउद्दिनविरुद्ध अभद्र दुर्व्यवहार मुद्धामा कारबाही प्रकृया अघि बढेको छ । उनीहरु मध्ये राजवंशी नेपाली कांग्रेस र अजिमउद्दिन माओवादी केन्द्रका स्थानीय नेता हुन् ।
प्रधानाध्यापक राजवंशीले विद्यालय हाताभित्र ‘स्टाफ रुम’ मै प्रवेश गरि आफ्नो मानमर्दन हुनेगरी धाकधम्कि, गालीगलौज र दुर्व्यवहार गरेकाले न्यायका लागि उनीहरुलाई कारबाहीको माग गर्दै जाहेरी दिएको बताए । ‘विद्यालयको जग्गा ठेक्का नलगाउन चर्को दवाव थियो । लगाउन खोज्दा अवरोध गर्दै आएका थिए । असार ११ गते ठेक्का लगाउने बोलपत्र आब्हान भएपछि म्याद सकिनु अगाडी १३ गतेनै ठेक्का लागेन भने तपाईँले ४०५ मन तिर्नुपर्छ भनेर म माथि उनीहरुले दुर्व्यवहार गरे ।’ प्रधानाध्यापक राजवंशीले पूर्वी टाईम्ससँग भने,‘ठेक्का खोल्दा लिने भएनन् भने तपाईँले तिर्ने? भन्दै मानमर्दन हुनेगरी ममाथि दुर्व्यवहार गरेपछि मानसिकरुपमा म अहिलेसम्म अप्ठ्यारोमा छु । त्यसैले कानुनी उपचार खोज्ने निर्णयमा पुगेँ र हदैसम्मको कारबाही माग गर्दै जाहेरी दिएको छु । तर, ठेक्का लगाउन नदिने उनीहरुको प्रयास असफल भयो । विद्यालयलाई धेरै फाईदा पुग्नेगरी १४२० मनमा ठेक्का लागेको छ ।’